FAQs Complain Problems

समाचार

प्रसिद्ध धार्मिक स्थलः मनकामना माईको मन्दिर

-जीवन आले मगर
गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्वपूर्ण शक्तिपीठ मानिन्छ । वार्षिक रुपमा करिव ११÷१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् । विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने गर्दछ । यहाँ प्रत्येक अष्टमीका दिन बली चढाइन्छ । मनकामना माईको दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले यो मन्दिर अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ । नेपालमा प्रथम शहिद लखन थापा मगरले पनि आफ्नो विद्रोही अभियानमा जनसमर्थन बढाउनका लागि रणनीतिक रुपमा मनकामना माई र  मनकामना प्रथम पुजारी सिद्ध लखन थापाको प्रसिद्धीलाई उपयोग गरेको देखिन्छ ।
राम शाहकी रानी लिलावती स्वयं मनकामना माईको अवतार थिइन् भन्ने जनविश्वास रहेको छ । सिद्ध लखन थापा मगर गोरखा दरवारमा रानी लिलावतीको सेवक थिए । राजा राम शाहको मृत्यु भएपछि सतगती गर्न मस्र्याङ्दी नदी र दरौँदीको दोभान बेनी (रामशाहघाट) भन्ने ठाउँमा राजाको चिता बनाइयो । रानी सती जान तयार भईन् । यो देखेर भक्त लखन थापा मगर शोकले विह्वल भएर विलाप गर्दा रानीले लखन थापालाई सम्झाउँदै – ‘म फेरि पनि तिमीलाई मेरो सेवा गर्ने मौका दिनेछु । तिमी आफ्नो गाउँ कफ्याकमा फर्क । म त्यही ठाउँमा शिलाको रुपमा उत्पत्ति भई भक्तजनहरुको मनोकामना पूरा गरिदिनेछु ।’ भनी सती गइन् । धार्मिक कथन अनुसार त्यसको ६ महिनापछि हाल मनकामना भगवतीको मन्दिर रहेको ठाउँमा स्थानीय धनध्वज गुरुङले गोरु जोत्दा हलो अड्की एउटा शिलाबाट दूध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका सिद्ध लखन थापाले तान्त्रिक विधिद्वारा पूजापाठ गरेपछि रगत वग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरिएको बनाइन्छ । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दर सन्तानलाई पुजारी नियुक्ति गरी नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी इन्सान थापा मगर सिद्ध लखन थापाको अठारौँ पुस्ताका सन्तान मानिन्छन् । प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ । शाह बंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवी मानिने भएकाले मनकामना विशिष्ट देवी भगवतीको रुपमा रहेको छ । मन्दिरमा नित्यपूजा विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । भित्री पूजा सकेर पूजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधारणको लागि बली र पूजा सुरु हुन्छ । मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ । साथै मन्दिर प्राङ्गणबाट सूर्योदय र सूर्यास्तको समयमा क्षितिजमा मनमोहक दृष्य देख्न सकिन्छ । तनहुँको आँवुखैरेनीबाट ३/४ घण्टाको उकालो पैदल यात्रा गरेर मनकामना पुग्न सकिन्छ । साथै आँबुखैरेनीबाट गोरखा तर्फ अँवुवा भन्ने ठाउँबाट र गोरखा सदरमुकामदेखि बुंकोट, घैरुङ्ग, हुँदै मोटरबाटो मार्फत मनकामना मन्दिर जान सकिन्छ । हिजो आज मनकामना भगवतीको दर्शन गर्न जाने यात्रुहरुको लागि पृथ्वी राजमार्गको चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटार नजिकै चेरेस भन्ने स्थानबाट मनकामना मन्दिर परिसर नजिकैसम्म करिव २.७ कि.मी. लम्वाई रहेको केवलकार सेवा संचालन भएको छ । केवलकारमा १०/१२ मिनेटको यात्रा पश्चात् गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत मनकामनामा रहेको माथिल्लो स्टेशनमा ओर्लिए पछि करिव २/३ मिनेटको पैदल यात्रा पश्चात् मनकामना भगवतीको मन्दिरमा पुग्न सकिन्छ । हाल मनकामना माईको मन्दिर जिर्णोद्वार समितिद्वारा
पुनःनिर्माण कार्य भई रहेको छ । पुनःनिर्माण समितिको निगरानीमा छानामा तामाको पाता माथि सुनको जलप लगाउने कार्य भईरहेको छ । केहि महिना पछि नै मनकामना माईको मन्दिरले पूर्णता प्राप्त गर्नेछ ।

जन प्रतिनिधि

वडा कर्मचारी